वाणगंगाको पहिचान र विकासको अवस्था

नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका साविकका बाणगङ्गा, हथौसा, पटना, गजेहडा ,कोपवा, मोतिपुर र भलवाड गा.वि.स. लाई मिलाई नेपाल सरकारले २०७३ साल मंसिर १६ गतेको निर्णयबाट बाणगङ्गा नगरपालिका घोषणा गठन भएको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री  ३५ मिनेट उत्तरी अक्षांस देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षांस र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । मुख्यत बाणगङ्गा नदीको सिंचित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका रहेको पाईन्छ । प्राचिन भागिरथी नदीको प्रतिक मानिएको यो बाणगङ्गा नदीको ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व रहेको छ । भगवान रामचन्द्रले बनवासमा रहँदा पानीको समस्यादेखि बाँण प्रहार गरि पानीको मुल फुटेर ग‌ंगाको रुपमा परिणत भई बाणगङ्गा नदीको नामाकरण भएको किंमदन्ती रहेको छ । बाणगङ्गा एक पवित्र भूमि जहाँ शाक्य दर्शनका प्रणेता महर्षि कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट ,मधुवनधाम, लक्ष्मणघाट, वर्गद्धीघाट आदि पवित्र तिर्थस्थलको सँगम रहेको यो नदी र यसको नामबाट पुकारिने यस नगरपालिकाको पनि ऐतिहासिक महत्व रहेको पार्इन्छ ।
यस नगरपालिकाको पूर्वतर्फ सैनामैना नगरपालिकाको सीमाना कोठीनदी, सालझण्डी जंगल कञ्चन गाँउपालिका, पश्चिममा बुद्धभूमि नगरपालिकाको कोइली नदी गोरुसिङ्गेको जंगल उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका र दक्षिणमा कपिलवस्तु नगरपालिकाको निग्लीहवा, जहदी र मायादेवी गाँउपालिकाको पतरिया रहेको छ । बाणगंगा नगरपालिका कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि उत्तर तर्फ १५ कि.मी को दुरीमा अवस्थित रहेको छ । करिव १५,८९४ भन्दा धेरै घरधुरी रहेको र कुल जनसंख्या ७५२४२ रहेको छ । जसमा वि.सं. २०६८ को जनगणना अनुसार महिला ४०३०९ र पुरुष ३४९३३ जनसंख्या रहेको छ । यस नगरपालिका भित्र बसोबास गर्ने जातजातिमा थारु, ब्राह्मण, क्षेत्री ,गुरुङ्ग, मगर, दलित, यादव र मुसलवान लगायतका जातजाति रहेका छन । मिश्रीत जातजातिको बसोबास रहेको यस बाणगङ्गा नगरपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि, व्यापार, उद्योग,सरकारी सेवा तथा ज्याला मजदुरी आदि रहेको छ । यहाँ मुख्य गरी धान, मकै, गहुँ, तोरी, माछापालन, कुखुरा, मौरी पालन अन्य पशुपालन लगायतका कृषि तथा पशुजन्य उत्पादनहरु हुने गरेको छ । 
नगरपालिकाको कुल जनसंख्याको साक्षरता ८४.७% रहेको छ । सरकारी तथा नीजि क्षेत्रबाट संचालन भएका शैक्षिक संस्थाहरुको संख्या ६९ पुगेको छ । जसमा ४७ वटा सामुदायिक विद्यालय छन भने संस्थागत २२ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । त्यस्तै धार्मिक रुपले संचालन भएको मनकामना संस्कृत विद्यापिठसँगै गुरुकुल शिक्षा तथा मदरसाहरुले समेत धार्मिक शिक्षाको रुपमा योगदान पुराएका छन् । यसको तुलनामा जिल्लामा बाणगङ्गा नगरपालिकाको साक्षरता प्रतिशत दर उच्च रहेको देखिन्छ 
यस नगरपालिकाको मूलनारा “ समृद्ध वाणगंगाको मूलआधार आर्थिक, सामाजिक रुपान्तरण सहितको पूर्वाधार” भन्ने रहेको छ । वाणगंगा नगरपालिकामा हाल ११ वटा वडा रहेका छन् । 

विकासको गति सँगै जनप्रतिनिधिहरूको असल नेतृत्वदायी भूमिका र कर्मचारीहरूको सकारात्मक सोच एवं उत्तरदायित्वका कारण अहिले वाणगंगाको विकासमा नयाँ आयाम थपिदै गएका छन् । निर्वाचित जनप्रतिनिधिहरूमा प्रायः सवै वडाका वडाअध्यक्षहरू विकासमा एक ढिक्का हुनु र अन्य जनप्रतिनिधिहरू पनि वाणगंगाको विकासबाट पहिचान बनाउनु पर्दछ भन्ने एउटै धारणा रहनु, यहाँका राजनीतिक दलका ब्यक्तित्वहरू तथा सामाजिक अभियन्ताबाट पनि सकारात्मक सहयोग र विकास हाम्रै लागि हो भन्ने धारणा प्रसस्त पार्इनु र यहाँ सञ्चारकर्मीहरूबाट पनि विकास सम्बन्धि जनचेतना फैलाउने किसिमको समाचार, सूचना, सञ्चार सम्प्रेषण गरी सकारात्मक सहयोग हुनु विकासका लागि महत्वपूर्ण कोशेढुंगा बनेको छ ।
प्रत्यक्ष देख्न सकिने विकासमा वाणगंगाका सवै वडाहरूमा माकुरी जालो जस्तै सडकहरू निर्माण तिव्रगतिमा अगाडी बढेको छ। फोहोर प्रशोधन केन्द्रको लागि जग्गा ब्यवस्थापन भएकोले केहि महिनामा फोहोरको उचित ब्यवस्थापन हुनेमा विश्वास गर्न सकिन्छ । उद्धोगहरूको एकिकृत विकास र उद्धोगको ब्यवस्थापनका लागि औद्योगिक ग्रामको तीव्र रूपमा काम अगाडी बढेको छ । विद्धालयहरूको समायोजन भै गुणस्तरीय शिक्षामा जोड दिर्इएको र नमुना विद्धालयको रूपमा समेत छनोटमा परी कार्य अगाडि बढेको छ । विकासका लागि खेल, स्वास्थ्यका लागि खेलका लागि वडाहरूमा खेलमैदान निर्धारण भएका छन् । 
धेरै बर्ष देखि अब्यवस्थित बसोवास गरिरहेका एवं भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूको लागि जग्गाधनी दर्ताप्रमाण पत्र ( लालपूर्जा ) पाउन नसकेकाहरूका लागि विवरण संकलन गरी जग्गा यकिन गर्ने कार्यको थालनी भएको छ । सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सवै वडामा Health Post सञ्चालन गरिएको छ र नगरको नमूनाको रूपमा पीपरा अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह भै रहेको छ । अत्याधुनिक बसपार्क र नगर सडक गुरुयोजना लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) को तीव्र रूपमा कार्य हुदैछ । वाणगंगा नदी संरक्षणका लागि अनुसन्धान भै रहेको छ । कृषिका लागि बजार ब्यवस्थापन गर्न कृषि संकलन केन्द्रको निर्माण भै रहेकोछ । Cold store को निर्माण हुदैछ ।  भित्री सडकहरूको स्तरउन्नति भै रहेका छन् । पर्यटन एवं धार्मिक विकासका लागि मधुवनधाम, लक्ष्मणघाट जस्ता क्षेत्रमा पूर्वाधारहरू निर्माण भै रहेका छन् । 
वाणगंगाको सञ्चारका गहनाका रूपमा रहेको बुद्धआवाज टेलिभिजन, सामुदायिक रेडियो वाणगंगा, हटविट एफ, सामुदायिक रेडियो बुद्धआवाज, सामुदायिक रेडियो मायादेवी, बुद्धदर्पण दैनिक, बुद्धआवाज साप्ताहिक, लुम्बिनी दर्पण साप्ताहिक पत्रिकाहरू र प्रेसपाटी अनलार्इन डटकम, वैखरी अनलार्इन डटकम, लुम्बिनी दर्पण अनलार्इन डटकम, यी साझाकुरा अनलार्इन डटकम, लुम्बिनी हव अनलार्इन डटकम आदि  गहनाका रूपमा यहाँका सञ्चार माध्यमहरू रहेका छन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने नेपाल पत्रकार महासंघको अध्यक्ष लगायत कपिलवस्तु जिल्लाका नेपाल पत्रकार महासंघका पदाधिकारी र विभिन्न सञ्चार माध्यममा आवद्ध भएका करिव चार दर्जन भन्दा बढी पत्रकार एवं सञ्चारकर्मी रहेका छन् । जसले गर्दा सुशासन मैत्री नगरपालिका बनाउन ठूलो योगदान पुग्ने अपेक्षा गर्न सकिने आधार देखिन्छ । यसै गरी होटल इभरग्रीन, होटल मायादेवी रिसोर्ट, होटल माछापुछ्रे, कार्की रिसोर्ट, राजापानी रिसोर्ट, थारू भिलेज, श्रीपेज होटल, पिस हिमालय होटल, नमस्ते कपिलवस्तु होटल, खाजाघर, लगायतका तीन दर्जन भन्दा धेरै होटलहरू रहेका छन् । करिव ५०० जना बासबस्न सक्ने क्षमता रहेको आधुनिक किसिमका थुप्रै होटलहरू पर्यटन पूर्वाधार विकासका लागि कोशेढुंगा बनेका छन् ।  सवै वडाहरूमा सडक पहुँचले गर्दा आवतजावतमा यातायातको सहजता रहेको छ । विभिन्न प्रकारका उद्धोगहरू, सपिङ्मल, कम्प्लेक्स लगायत धेरै संभावना रहेका ब्यवसायहरूबाट वाणगंगाको आर्थिक सामाजिक रूपमान्तरणमा कोशेढुंगा हुनेमा विश्वास गर्न सकिन्छ । यसरी साविकको बाणगङ्गा, हथौसा, पटना, गजेहडा ,कोपवा,मोतिपुर र भलवाड गा.वि.स. समायोजन गरेर वाणगंगा नगरपालिका बनेको धेरै भएको छैन विकासको फड्को मारीरहेकोछ जसका कारण आज वाणगंगामा के छैन ? थप विकासका लागि सवैले हातेमालो गर्न जरूरी छ । सवै क्षेत्र र सरोकारवाला ।मिलेर नमुना नगरपालिका बनाउन सवैको उत्तिकै दायित्व रहेकोछ । सकारात्मक एवं रचनात्मक सुझावका लागि अपेक्षाकृत रहेको छु   !! 
(लेखकः नेपाल सरकारका उपसचिव एवं वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

गरिबीको अवस्था र घटाउने उपाय ।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आव

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम ।

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगल