आँखाको उपचारमा सरकारको भूमिका र समाजमा यसको प्रभाव

काठमाडौं, २७ पुस । आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। आँखाको आधारभूत हेरचाह अनुहार र आँखा वरपरको भागलाई सफा राख्नुपर्दछ । गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ। त्यसैगरी धैरै घाम, हावाबाट र कुनै पनि चोटपटकबाट आँखालाई जोगाउनुपर्दछ । हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले नै आँखा पाक्छ। यो बाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ। आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ। आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन। आँखामा संक्रमण भएको बिरामीको आँखाको आँसुबाट सुरू भएर अरूलाई सर्ने हुन्छ। बिरामीले छोएको सामानबाट र रुमालबाट बढी सर्छ।

पोषणयुक्त खानेकुरा खानाले पनि आँखाको स्वस्थ्य राम्रो पार्न ठूलो भूमिका हुन्छ । जुन खानेकुराले मुटुलाई स्वस्थ राख्छन्, आँखाको लागि पनि त्यही खाना राम्रो हुन्छ । आँखामा चोटपटक लाग्दा आँखा कमजोर हुने वा अन्धोपन पनि हुन सक्छ । त्यसैले चोटपटकको तुरुन्तै उपचार गर्नुपर्दछ । आँखाको गम्भिर चोटपटक वा खतरायुक्त लक्षणहरुका लागि नजिकैको अस्पताल, स्वास्थ्य क्लिनिकमा जानुपर्दछ । टाढाको वा नजिकै को वस्तुहरु देख्नमा गाह्रो भएमा चस्माको प्रयोग गर्नुपर्छ र चस्माले राम्रोसँग देख्न सक्ने बनाउँछ । उमेर बढ्दै जाँदा पढ्नको लागि वा टाढा हेर्न चस्मा चाहिन सक्छ। एलर्जीबाट जोगिन बाहिर धुलोमा हिँड्दा चश्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ।

त्यसैगरी आँखामा आँसुको मात्रा कमी भएर आँखालाई गाह्रो हुन्छ जसले गर्दा आँखा पोल्ने समस्या उत्पन्न हुन सक्छ । आँखामा आँसुको कमी भयो भने चिकित्सकको सल्लाह अनुसार औषधि मार्फत् आँसु थप्नुपर्छ। धेरै नै आँसुको मात्रा कम छ भने दिने औषधि र आँसुको मात्रा कम भएको बेलामा दिने औषधिमा फरक हुन्छ। आँखा पोल्ने अन्य समस्याले पनि हुन्छ। अनिन्द्राको कारणले पनि आँखा पोल्छ। यस्तो भएको पनि आँखामा आँसुको मात्रा कम भएर हो। आँखा पोल्ने समस्या भएको व्यक्ति पनि धुलो र घामबाट जोगिनुपर्छ। यसको लागि आइसले सेक्यो भने फाइदा हुन्छ। यसको साथै चश्मा पनि लगाउनुपर्छ भनेर चिकित्सकहरूले बारम्वार सुझाव दिएको पार्इन्छ । कहिले काही टाउको धेरै दुख्ने गर्दछ यसो हुनुमा आँखाको चस्माको पावरका कारणले पनि हुन सक्छ ।

आँखा र यसका भागहरुका बारेमा जानकारी राख्नाले आँखालाई स्वस्थ्य राख्न र आँखा सम्वन्धि समस्याहरुको हेरबिचार गर्न मद्दत पुग्दछ । आँखाका भागहरु  जस्तै अश्रु ग्रन्थीले आँशु उत्पादन गर्दछ ।  परेला (eye lashes) आँखाको बीटको वरिपरीको भाग हो ।  कालो भाग आँखाको नानी हो । नानीको वरिपरि (घेरिएको) आइरिस रङ्ग भएको भाग हो । आँखाको भित्र ढाक्ने आँखाको ढकनी(eyelid) बाहिर पट्टी हुन्छ । आँशु नली आँशुलाई नाकभित्र पठाउने ट्युब हुन्छ । आइरिस र नानीलाई ढाक्ने सफा कोर्निया (पारदर्शी) हुन्छ । नेत्र–श्लेष्मझिल्ली (conjunctiva) आँखाको सेतो भागलाई ढाक्ने पातलो तह हो ।  गोलो, सफा र आँखाको भित्रपट्टी हुने लेन्स देख्नको लागि प्रकाशलाई केन्द्रित गर्न चाहिने भाग हुन्छ । यसरी हाम्रो आँखाको बनोट रहेको हुन्छ । आँखा स्वस्थ्य भएको अवस्थामा आँखाको ढकनी सजिलै खुल्छन् र बन्द हुन्छन् । परेलाहरु आँखाको भित्रपट्टी नभई बाहिरपट्टी दोब्रिन्छन् ।  सेतो भाग सबै सेतो, मुलायम र ओसिलो हुन्छ । आइरिस र नानीलाई ढाक्ने सफा (पारदर्शी) कोर्निया चम्किलो, मुलायम र पारदर्शी हुन्छ । आँखाको नानी कालो र गोलो हुन्छ। प्रकाशसँगै यो सानो ठूलो बन्छ ।

हामीले सधै स्वस्थ्य राख्न आँखालाई सफा राख्नुपर्छ, आँखा सम्वन्धि समस्याहरुको रोकथाम गर्न बेलाबेलामा अनुहार धुनुपर्छ । यसले गर्दा फोहर र किटाणु आँखाभित्र पस्न पाउँदैन । धुनका लागि धेरै पानी पनि चाहिँदैन । अरुले प्रयोग गर्ने कपडा वा तौलियाको प्रयोग गर्नुहुँदैन । सकेसम्म अनुहारलाई हावाले नै सुक्न दिनुपर्छ । धेरैले एउटै तौलिया प्रयोग गर्ने गर्नाले आँखाको रोग एकबाट अरुमा सर्छ । आँखाहरुमा संक्रमण भएमा सफा कपडा र सफा पानीले धुनु पर्दछ । संभव भएमा उमालेर चिसो भएको पानीले बारम्बार सफा गर्नुपर्दछ । नाकतिरको आँखाको कुना देखि बाहिर पट्टि कानतिरको आँखाको कुनासम्म विस्तारै पुछ्नुपर्छ। संक्रमण नफैलियोस् भनेर संक्रमित आँखाको सरसफाई गर्नु अघि र गरिसके पछि हात साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

आँखामा केही फोहर परेमा आँखा बन्द गरेर आँखा चारैतिर दायाँ वायाँ र तलमाथि चलाउनुपर्छ । त्यसपछि आँखाको ढकनीलाई खुला हुनेगरी समातेर फेरी तल र माथि हेर्न दिनुपर्छ । यसले गर्दा आँखाबाट आँशु निस्केर प्रायः फोहर वाहिर निकाल्छ सकिन्छ । आँखामा केही परेको वा घाउ भएको भएमा आँखालाई दल्नुहुँदैन । फोहर वा परेलाको टुक्रालाई सफा पानीले पखाल्न पनि सकिन्छ । त्यसको लागि सफा पानी बाहेक अरु कुनै पनि तरल पदार्थको प्रयोग गर्नुहुँदैन । आँखालाई खुला राखेर सफा भाँडामा भएको पानीमा आँखा डुबाउनुपर्छ । फोहरको टुक्रालाई भिजेको सफा कपडा, तरल पदार्थ सोस्नका लागि बनाइएको पातलो जालिदार कपडा वा कपासको गद्दाले पनि हटाउन सकिन्छ । आँखाको माथिल्लो ढकनी मुनि फोहर भएमा कपासको गद्दामाथि त्यस ढकनीलाई फर्काएमा देख्न सकिन्छ । फोहरलाई सजिलै बाहिर निकाल्न नसकेमा असजिलो महशुस हुने ठाउँमा स्वास्थ्यकर्मीसंग सल्लाह लिएर थोरै मात्रामा आँखामा लगाउने एण्टिवायोटिक मलम लगाउनुपर्दछ ।

आँखालार्इ विभिन्न किसिमले असर पार्दछ । त्यस्ता विषयमा ख्याल गर्नु जरूरी हुन्छ । जस्तै खाना पकाउने चुल्हो र स्टोभहरुबाट निस्कने धुवाँले आँखालाई सुख्खा गर्दछ । कृषि औजार, फोहर, माटो, ढुंगा, रुखका हाँगा, विषालु वनस्पती, रासायनिक मल र विषादीहरु सबैले आँखालाई हानी गर्छन् । बढी चम्किलो घाम, धुलो र हुरीले आँखा पोल्छ ।  कारखानाका कामदारहरु, किसानहरु, खानी मजदरहरु, जनावरको हेरविचार गर्ने ब्यक्तिहरु, घरेलु कामदार लगायतका अन्य मानिसहरुले रसायनको प्रयोग गर्दछन् । रसायन आँखामा परेमा तुरुन्तै आँखा पोलिन सक्छ । यस्तो समयमा तुरुन्तै धेरै बेरसम्म सफा पानीले आँखा पखाल्नुपर्छ । धेरै समयसम्म एउटै काम गरिरहँदा आँखामा दवाव सृजना हुन्छ । चस्माहरु (safety glasses / safety goggles) ले आँखाको सुरक्षा गर्दछन् । यन्त्र वा विद्युतीय उपकरणहरु (power tools) प्रयोग गर्दा, मोटरसाइकल चढ्दा वा विषादी वा अन्य रसायनहरुसँग काम गर्दाsafety glasses वा safety goggles को प्रयोग गर्नुपर्दछ । नेपालमा अहिले कारखानामा फलामको काम गर्ने केही कामदारले, सुनको काम गर्ने मानिसहरुले यस्तो चस्मा प्रयोग गरेको देखिन्छ । सूर्यका परावैजनी किरणहरुबाट सुरक्षा दिन सक्ने चस्मा लगाउनुपर्दछ । मोवाइलको स्क्रिनमा हेर्दा वा कुनै नजिकै रहेको बस्तुमा धेरै घण्टासम्म हेर्दा आँखामा दवाव पर्छ । लामो समयसम्म आँखालार्इ दवाव दिनु हुदैन ।

शरिरलाई स्वस्थ राख्न सहयोग गर्ने धेरै खानेकुराहरुले आँखा स्वस्थ्य राख्न समेत सहयोग पुग्छ । आँखाको लागि  हरियो सागपात, क्याप्सिकम, केराउ, सिमि, सखरखण्ड, गाँजर, फर्सी, कर्कलो, आँप, मेवा, सुन्तला,एभोकाडो, अम्बा, अमला, नासपाती, केरा, माछा, वदाम, काजु, किसमिस, आँप, मेवा, हरियो सागपात, पालुङ्गो, माछा, अण्डा लगायतका भिटामिन ए पाइने आदि पोषणयुक्त खानेकुरा महत्वपूर्ण मानिन्छ । काम र पारिवारिक भूमीकाले गर्दा महिलालाई आँखाको समस्याहरुबाट ग्रसित हुने सम्भावना बढी हुन्छ । नेपालमा पुरुषमा भन्दा बढी महिलाहरुमा अन्धोपन बढी देखिएको अनुसन्धानबाट खुलेको पार्इन्छ ।  समूदायका मानिसहरुका लागि दृष्टि परीक्षण (vision testing), चस्मा र मोतिविन्दूको शल्यक्रिया कार्यक्रमहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गर्नु जरूरी छ । चस्माको प्रयोगबाट कमजोर दृष्टिको समाधान गर्न सकिन्छ । राम्रोसँग देख्न नसक्ने तर विद्यालय जाने उमेरका वालवालिकाहरुले आफू लाई चस्मा चाहिएको कुरा भन्न सक्दैनन्। तर टाउको दुख्नु, आँखा झिम्क्याउनु, सकेसम्म पहिलो बेन्चमा बस्न खोज्नु, विद्यालयमा खेल्दा गाह्रो हुनु जस्ता समस्या बच्चालाई भएमा उसलाई आँखा सम्वन्धि समस्या भएको हुन सक्छ र चस्मा चाहिन सक्छ। यस्ता लक्षण देखिएमा विद्यालयले सम्बन्धित अभिभावकलार्इ समयमा चिकित्सकसँग सम्पर्क गर्न सुझाउनु पर्दछ ।

आँखामा चोटपटक लागे गम्भिर अवस्था हुन्छ र आँखामा संक्रमण भएमा तुरुन्त उपचार गरिहाल्नुपर्छ किनभने संक्रमण भएपछि अन्धोपन पनि हुन सक्छ । यसलार्इ इमर्जेन्सी अवस्था भनिन्छ । नेपालमा धान, मकैको पातले पनि गाउँघरमा चोटपटक लागेको देखिएको छ । चोट लागेको १ वा २ दिनपछि आँखा धेरै दुखेमा यो एक्युट ग्लुकोमा हुनसक्छ। आँखाको दृष्टि कम भएमा, गहिरो घाउ लागेमा, आँखामा रगत वा पिप देखिएमा, चम्किलो प्रकाशमा आँखाको नानी सानो नहुने भएमा तुरुन्तै उपचार गर्नु पर्दछ र २४ घण्टाभित्र चिकित्सकको सहयोग लिनुपर्छ ।

कोर्नियाको पछाडि रगत हुनु (hyphaema), आँखाको रङ्गिन भागमा आइरिस रगत हुनु गम्भिर अवस्था हो । पारदर्शी भागको पछाडिपट्टी रगत जम्मा भएर आइरिसलाई नै ढाक्न सक्छ । राम्रोसँग देखिंदैन र दुख्छ । आँखामा मुठी वा ढुंगा जस्ता केही कडा चिजले चोट लाग्दा यसरी रगत बग्न सक्छ । यस्तो अवस्था भएमा तुरुन्तै आँखा विशेषज्ञकहाँ लैजानुपर्छ । बाटोमा लैजाँदै गर्दा ठाडो भएर बस्न लगाउनुपर्छ ताकि रगत बगेर आँखामा समस्या नपरोस् । आँखाको सेतो भागमा रगत देखिएमा प्रायःजसो त्यती खतरा हुँदैंन र केही हप्तामा आफैं हराएर जान्छ । कोर्नियामा घाउ भएमा वा आँखाको शल्यक्रिया गरेपछि पनि यस्तो हुनसक्छ । यस्तो बेलामा तुरुन्तै चिकित्सकको सहयोग लिनुपर्छ । कोर्निया वा बाहिरी नानीको पछाडि रगत जम्मा हुनु खतरापूर्ण हुन्छ ।

अश्रुग्याँस जस्ता रसायनहरु प्रहरीले प्रयोग  गरेको बेलामा प्राथमिक उपचार जतिसक्दो चाँडो गर्न त्यहाँबाट टाढा भागेर आँखालाई पखाल्नु पर्दछ । यस्तो अवस्थामा सफा रुवा वा कपडा पनि प्रयोग गर्न सकिन्छ । वाक्लो पिप वा तरल पदार्थ बग्दा conjunctivitis (‘गुलाफी आँखा’ वा ‘रातो आँखा’) हुनसक्छ । यो ब्याक्टेरियाको संक्रमणले गर्दा हुनसक्छ । एउटा आँखाबाट अर्को आँखामा संक्रमण नसरोस् वा उपचारमा संलग्न वा अन्य मानिसहरुलाई नसरोस् भन्नका लागि दुवै आँखा सफा गर्दा, उपचार गर्दा हातधुने गर्नुपर्छ। रोकथाम Conjunctivitis एक ब्यक्तिबाट अर्को ब्यक्तिमा धेरै सजिलै सर्दछ । यस्तो समस्याको महामारी भएमा र अरु मानिसको वा आफ्नै आँखा छोएपछि हात धुनुपर्दछ । Conjunctivitis भएका वालबच्चालाई अरुले पनि प्रयोग गर्ने रुमाल वा ओढ्ने ओछ्याउने प्रयोग गर्न दिनुहुँदैन। सुत्ने कोठा र ओढ्ने ओछ्याउनेलाई धुलो रहित बनाउनुपर्दछ ।

धेरैजसो देखिने आँखासम्वन्धि समस्याहरु मोतिविन्दु (Cataracts)लार्इ लिने गरिन्छ । लेन्स आँखाभित्रको पारदर्शी भाग हो जसले बाहिरको प्रकाशलाई केन्द्रित गरी आँखालाई देख्ने बनाउँछ । उमेर बढ्दै जाँदा लेन्स धमिलो हुँदै जान्छ, दृष्टि कम हुँदै जान्छ र अन्धोपन हुन्छ । यस्तो धमिलोपन कहिंलेकाहिं आँखामा खरानी रङ्गको धब्बा (gray spot) को रुपमा देखिन्छ जसलाई मोतीविन्दु भनिन्छ । मोतीविन्दु बृद्ध मानिसहरूमा वढी देखिन्छ, तर शिशु एवं वालबच्चामा पनि हुनसक्छ । मोतीविन्दु छिटो नहोस् भन्नको लागि धुम्रपान गर्नुहुँदैन, पारिलो घामको किरणबाट आँखालाई जोगाउन टोपी (ह्याट), छाता, चस्माको प्रयोग गर्नुपर्छ । परीक्षण गरी मोतिविन्दुको उपचार समयमै गरे अन्धोपन हुन पाउँदैन । कुनै पनि औषधीले मोतीविन्दु ठीक गर्दैन । शल्यक्रियाबाट मात्र मोतिविन्दु धमिलो लेन्स हटाई सफा लेन्स हालेर आँखाको ज्योती फर्काउन सकिन्छ । नेपालमा मोतीविन्दुको राम्रो उपचार हुन्छ । प्रत्येक जिल्लामा जहाँ आँखा अस्पताल छ, त्यहाँ गएर सल्लाह लिन सकिन्छ । प्रायः आँखाको अस्पतालमा यसको उपचार हुन्छ । शल्यक्रियापछि आँखामा ४ हप्तासम्म एण्टिवायोटिक र आँखाको anti-inflammatory थोपा औषधी चाहिन्छ । शुरुमा आँखामा केही गाह्रो भएपनि विस्तारै सुधार हुन्छ । पहिलो दुई हप्तासम्म आँखा दखेमा तुरुन्तै आँखाको डाक्टरकहाँ जानुपर्छ । शल्यक्रियापछि पनि नजिकको देख्नका लागि चस्मा (reading glasses) चाहिन सक्छ ।

आँखाभित्र कहिले दुख्छ, चाप बढ्छ र आँखाभित्रका नशाहरुमा क्षती पुग्दछ यसैलाई ग्लुकोमा भनिन्छ । सामान्य आँखाको तुलनामा ग्लुकोमा भएको आँखा एकदम दुख्छ । यो निकै गम्भिर समस्या हो । यस्तो रोग लागेको मानिसलाई उपचार नगरे अन्धोपन हुन्छ । घाउचोटबाट पनि ग्लुकोमा हुनसक्छ । तर कतिपय अवस्थामा कारण अज्ञात हुन्छ । ग्लुकोमा भएको ब्यक्तिलाई आँखाको चाप घटाउने उपचार गरिन्छ । आँखाको चाप घटाउन जीवनभर आँखामा थोपा औषधी हालिन्छ । कहिंलेकाहिं लेजर विधिको उपचार वा शल्यक्रियाको प्रयोग पनि गरेर आँखाको चाप घटाइन्छ । ग्लुकोमा ४० बर्षभन्दा वढीको उमेर भएका मानिसहरुलाई हुन्छ । कसैको परिवारको सदस्यमा ग्लुकोमा भएको थियो भने तिनलाई वढी असर पर्न सक्छ । त्यसैले समय समयमा ४० बर्ष माथिको उमेर भएकाहरुको लागि ग्लुकोमाको परीक्षण गर्न सहयोग गर्नुपर्दछ । मधुमेह भएका मानिसहरुलाई ग्लुकोमा बढी हुन सक्छ । ग्लुकोमा धेरै प्रकारका हुन्छन् । प्राय छोटो अवधिको ग्लुकोमा (एक्युट ग्लुकोमा) र दिर्घकालिन ग्लुकोमा (क्रोनिक ग्लुकोमा) हुन् । एक्युट ग्लुकोमा (angle-closure glaucoma) यसले आँखामा धेरै छिटो असर पुर्याउँदछ । यो बेला आँखा रातो हुने, धेरै दुख्ने र दृष्टि कम हुन्छ । वाकवाकी, टाउको दुख्ने र उज्यालो हेर्न नसकिने हुन्छ । सामान्य आँखाको तुलनामा यो आँखाले हेर्न गाह्रो हुन्छ । उपचार गरिएन भने छोटो अवधिको ग्लुकोमाले दृष्टिविहिन गराउन सक्छ । विरामीलाई तुरुन्तै उपचार गर्नुपर्छ । शुरुमा आँखामा चाप घटाउनको लागि चिकित्सकको सल्लाह बमोजिंम थोपा औषधी हाल्नुपर्छ । त्यसपछि चिकित्सकद्वारा लेजर प्रविधिको उपचार वा शल्यक्रियाबाट उपचार गरिन्छ । यसैगरी क्रोनिक ग्लुकोमा (open-angle glaucoma) दीर्घकालीन ग्लुकोमामा आँखाको चाप विस्तारै बढ्छ, दुख्दैन । शुरुमा किनाराको दृष्टि (peripheral vision) कम हुन्छ । आँखाको दृष्टि कम नहोउन्जेल यसको असर थाहा हुँदैन । आँखा विशेषज्ञले किनाराको दृष्टिको जाँच गर्दछन् र यस्तो किसिमको ग्लुकोमाको परीक्षणको लागि आँखाको भित्र हेर्दछन् । जति छिटो यसको उपचार गरियो, त्यती नै राम्रो हुन्छ । आँखाको थोपा औषधी, लेजर वा शल्यक्रियाको उपचार गरेपछि दृष्टि थप विग्रन पाउँदैन। आँखामा मासुको बृद्धि (pterygium) पनि अर्को समस्या हो । यो आँखाको सतहमा मासुको बाक्लो हुने प्रक्रिया हो । यो नाकको नजिकको आँखाको सेतो भागबाट मध्य भागतिर बढ्दै जान्छ त्यसलाई Pterygium भनिन्छ । यो गम्भिर समस्या त होइन । तर कडा प्रकाशको किरण भएको, हावा वा धुलो भएको वाहिरी वातावरणमा धेरै समय काम गर्ने मानिसहरुलाई यो हुने सम्भावना वढी हुन्छ । कालो चस्मा र टोपी (hats) लगाउनाले र हावा र धुलोलाई छेकेर यसबाट जोगिन सकिन्छ । यसलाई पनि कुनै खास उपचार चाहिँदैन । तर आँखामा मासुको डल्ला हटाउन चाहेमा आँखाको शल्यचिकित्सकले सानो शल्यक्रिया गरेर हटाउँछन् ।

आँखाको सेतो भागमा रगत देखिनु (Blood in the white of the eye) केही गहुंगो चिज उठाएपछि, धेरै खोके पछि वा आँखामा सामान्य घाउचोट लागेपछि कहिंलेकाहिं सेतो भागमा रगत देखिन सक्छ । साना रगतका नलीहरु (tiny blood vessel) फुटेपछि यस्तो हुन्छ । आँखामा घाउचोट लागेजस्तो यो हानीकारक हुँदैन र दुर्इ हप्ताभित्र आफ्से आफ विस्तारै हराएर जान्छ । कुनै उपचार चाहिँदैन । यद्यपी आँखाको रङ्गिन भाग(आइरिस)  मा रगत भएमा भने यो गम्भिर हुन्छ ।

आँखाको अर्को समस्या आँखा सुख्खा हुनु हो । हावा, बढ्दो उमेर, हावामा रहेको धुवाँ र केही औषधीहरुका कारणले पनि आँखा सुख्खा हुने गर्छन् । फोहर वा वगेको तरल पदार्थले आँशुलाई अवरोध गर्दा आँखा सुख्खा आँखाको ढकनी र आँखा वरपरको अनुहारको भाग सफा रहेमा आँशुले आँखालाई स्वस्थ राख्छन् ।  आँखा सुख्खा रहेमा आँखामा प्राकृतिक चिस्यान बढाउनका लागि दिनको १–२ पटक ५–१० मिनेटका लागि तातो कपडा (warm compresses) राख्न सकिन्छ । चिकित्सकको सल्लाह लिएर आँखामा हाल्ने थोपा औषधीले फाइदा गर्न सक्छ ।

चम्किलो सतह जस्तैं भित्ता वा आकाशमा हेर्दा कहिंलेकाहिं floaters वा साना चलायमान धब्बाहरु देखिन्छन्। धब्बाहरु आँखा चलेसँगै चल्दछन् र साना झिंगाहरु जस्तै देखिन्छन् । यस्ता धब्बाहरु प्रायः देखिने गर्दछन् र सामान्यतयाः हानिरहित हुन्छन् । धेरैको संख्यामा चलायमान बस्तुहरु अकस्मात देखिएमा र एउटा आँखामा दृष्टि कम भएमा वा प्रकाशको ज्वाला समेत निरन्तर देखिन थालेमा यो छुट्टिएको रेटिना (detached retina) भनिने अवस्थाको लक्षण हुनसक्छ । जतिसक्दो चाँडो रेटिनालाई पुनः जोड्न (reattach) का लागि शल्यक्रिया आवश्यक हुन्छ । रतन्धो, सुख्खा आँखा अर्थात xerophthalmia कुपोषण हुँदा भिटामिन A को कमी हुन्छ । जसले वालवालिकाहरुका आँखामा हानी पुर्याएर अन्धोपन हुन्छ।  तर यसको रोकथाम गर्न सकिन्छ । गाँजर, आँप, मेवा, हरियो सागपात, पालुङ्गो, माछा, अण्डा लगायतका भिटामिन A पाइने खानेकुराहरु खुवाएर साना वालवालिकाहरुको आँखाको सुरक्षा गर्नुपर्दछ । भिटामिन A को कमी भएमा शुरुमा आँखाहरु सुख्खा हुन्छन् र कम आँशु उत्पादन गर्दछन् । त्यसपछि उज्यालो कम हुँदा हेर्न कठीन हुन्छ । आँखाको सेतो भागको चमक हराउँछ र चाउरी पर्न शुरु हुन्छ ।

कहिले काही गर्भवती महिलाको आँखा धमिलो हुन जान्छ, धब्बाहरु देखिन्छन्, एउटा आँखामा दृष्टि ह्रास हुन्छ वा दोहरो दृष्टि (double vision) देखिन्छ । यसलाई pre-eclampsia भनिन्छ । यो गम्भिर अवस्था हो । Pre-eclampsia ले टाउको दुख्ने र उच्च रक्तचापले पनि हुन्छ । यस्तो बेलामा तुरुन्तै उपचार गरिहाल्नुपर्छ । रक्तचाप कम गर्न औषधी प्रयोग गरिन्छ ।

 प्रत्येक गर्भवती महिलालाई यौनरोग छ की छैन भनेर जाँच गर्नुपर्छ । यौनरोग भए तुरुन्त औषधी गर्नुपर्छ । उपचार गरिएन भने शिशु अपांग जन्मिने, शिशुको आँखामा समस्या पर्ने वा दृष्टि गुम्न सक्ने खतरा हुन्छ। शिशुहरुलाई गम्भिर आँखाको समस्या निम्त्याउन सक्ने रुवेलाबाट गर्भवती महिलालाई जोगाउनुपर्दछ । आँखालाई असर गर्ने रोगहरु सम्पूर्ण शरिरलाई असर गर्ने संक्रमण वा रोगहरुले आँखालाई पनि हानी पुर्याउँछन् । कसैलाई आँखा सम्वन्धि समस्या भए अन्य रोगको पनि जाँच गराउनुपर्छ । जस्तै उच्च रक्तचाप र बाथ रोगले पनि आँखामा समस्या गराउँछ । क्षयरोगले पनि आँखामा संक्रमण गर्दछ र रातोपन हुने वा दृष्टिलाई कमजोर बनाउँछ । धेरैजसो क्षयरोगको लक्षणहरु शुरुमा फोक्सोमा वा शरिरको अन्य भागमा देखिन्छन् । HIV/AIDS मानिसहरुमा भएको आँखा सम्वन्धि समस्याहरु र दृष्टिमा आउने ह्रासलाई HIV का औषधीबाट उपचार गर्न सकिन्छ । मधुमेह (Diabetes) र उच्च रक्तचाप (Blood Pressure) भएका मानिसहरुमा आँखाका समस्याहरु देखिन्छन् । मधुमेह बढेपछि आँखामा हानी पुर्याउँछ । डायविटिक रेटिनोप्याथी भनीने गम्भिर अवस्थाको उपचार नगरिएमा अन्धोपन हुन सक्छ । मधुमेह भएको मानिसको आँखा धमिलो भयो भने रगतमा चिनिको मात्रा बढेको हुनसक्छ । यस्तो बेलामा बढी तिर्खा र पिसाव लाग्न सक्छ । मधुमेहको रोगथाम गरे सुरक्षित हुन सकिन्छ । यसैगरी उच्च रक्तचापले आँखाभित्रका रगतका नलीहरुलाई हानी पुर्याउँछ साथै आँखा र दृष्टि खराब गर्दछ । रक्तचाप नाप्नुपर्छ । उच्च रक्तचापको रोकथाम गरे सुरक्षित रहन सकिन्छ ।

हामीले आँखामा मोतिबिन्दु, जलबिन्दु, पर्दा (रेटिना), आँखाको नानी र अन्य भागमा लाग्ने रोगको बारेमा शुरूमै  थाहा भयो भने उपचार गर्न निकै सजिलो हुन्छ । चालीस बर्ष उमेर पुगेका सवैले नियमित आँखा जाँच गराउनु राम्रो हुन्छ । आँखा भित्र भएको लेन्समा धमिलोपन देखापरी पारदर्शिता कमीभर्इ दृष्टि कमजोर हुनु, दृष्टि अस्पष्ट वा पूर्णरूपले बन्दहुनु मोतिबिन्दु हो । यसको स्थायी उपचार शल्यक्रिया (Operation) हो । शल्यक्रियाबाट धमिलो भर्इसकेको लेन्स झिकेर आँखामा अर्को लेन्स राखिन्छ । मोतिबिन्दुको Operation दुर्इ प्रविधि रहेको पार्इन्छ । पहिलो हातले गर्ने प्रविधि यसलार्इ एक्सट्राकेप्सुलर एक्सट्रेक्सन भनिन्छ । दोस्रो फेको ( कम्प्युटर) बाट गरिने प्रविधि यसलार्इ फेको इमल्सिफिकेशन भनिन्छ ।

नेपाल अन्धोपन नियन्त्रण कार्यक्रम (स्थापना सन् १९९२) अन्तर्गत (Tilganga Institue of Opthalmology / Tilganga Eye Hospital) एक गैरसरकारी संस्थाको रूपमा सन् १९९४ मा काठमान्डौंको तिलगङ्गामा स्थापना भएको हो । यस अस्पताल नेपालकै सर्वोत्कृष्ट अस्पतालमा पर्दछ । यस अस्पतालका संचालक र योजनाकार नेत्र विशिषज्ञ डा. सन्दुक रुइत हुन् । यस अस्पतालका अन्तराष्ट्रिय पार्टनरका रूपमा आवद्द संस्थाहरु हिमालयन क्याटराक्ट प्रोजेक्ट र द फ्रेड हलोज फाऊनडेसन रहेका छन् । बिरामीहरूको सरल उपचार र अस्पताल व्यवस्थापनका लागि विभिन्न विभागमा विभाजन गरी सुबिधा दिने गरेको पार्इन्छ। तिलगंगा आँखा अस्पतालद्वारा सन् १९९४ देखिनै आँखा प्रत्यारोपण गर्न सुरु गरिएको हो । तिलगंगाले वर्षमा एक सय २० देखि एक सय ५० जनाको मात्रै नानी पत्यारोपण गर्नु पर्नेमा अहिलेसम्म ६ हजारभन्दा बढीको गुमेको दृष्टि फर्काउन सफल भएको छ। साथै चस्मा नलगाई वा आँखाको पावर बढी भई चस्मा लगाउनु पर्ने बाध्यताबाट मुक्त हुन लेजर सर्जरीको प्रयोग गर्न सकिन्छ । विदेशमै सिमित रूपमा रहेको महँगो सर्जरी नेपालमै पहिलो पटक तिलगंगा आँखा अस्पतालले निकै कम मुल्यमा गर्ने गरेको छ । आँखाको नानीभित्र ‘रेटिना’ छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्नलाई लेजर पद्दतिको प्रयोग गरिन्छ। लेजर सर्जरीलाई स्माइल प्रविधि पनि भनिन्छ। भारतमा झन्डै अढाइ लाख भारू र अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्ने यस लेजर सर्जरी तिलगंगाले करिब ४५ हजारमा यो सेवा दिँदै आएको बुझिएकोछ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश मानिन्छ। यसका अतिरिक्त विपन्नवर्गलाई निशुल्क सेवा दिने गरिएको छ । नेपालमा हालसम्म माइनस १४ र प्लस ६ सम्म पावर भएकाहरूलाई यो प्रविधि अपनाएर शल्यक्रिया गर्न सकिने बुझिएको छ । यस्तै मोतिबिन्दुको उपचार लगायत आँखा जाँच गर्ने कार्य विभिन्न जिल्लामा रहेका आँखा उपचार केन्द्र, आँखा अस्पताल, आँखा जाँच क्लिनिक जस्ता निकायबाट पनि हुने गरेको छ। हामी सवैले समयमा आँखा जाँच गरार्इ स्वास्थ्यलाभ लिन भुल्नु हुदैन ।  

अब समाज, समूदाय, विद्यालयहरूमा समेत वालवालिका, वयस्क र बृद्दहरुको आँखा जाँच गर्ने कार्यक्रम विशेष गरी संघीय सरकारबाट आँखा सम्बन्धी विज्ञद्वारा कम्तीमा एउटा पालिकामा वर्षमा तीन दिन सेवा उपलब्ध गराउनु पर्ने नीतिगत ब्यवस्था गर्नु पर्ने, प्रदेश सरकारले मुख्यमन्त्री कार्यक्रम कै रूपमा सवै पालिकामा अभियान चलाउने र स्थानीय तहले प्रदेश सरकारसँगको सहकार्यमा प्रभावकारी रूपमा शिविर सञ्चालन गरी आँखा उपचार र स्वस्थ्य जीवन अभियान चलाउने ब्यवस्था गर्न जरूरी छ । यसो हुन सकेमा वालवालिका, वयस्क र बृद्द सवैले आँखा सम्बन्धि समस्या भोग्न नपर्ने र समयमा स्वस्थ्य बन्नेमा विश्वास गर्न सकिन्छ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

Image may contain: 1 person

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

गरिबीको अवस्था र घटाउने उपाय ।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आव

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम ।

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगल