सुख प्राप्तीका सात महत्वपूर्ण आधारहरु ।

सुख जो कोहीले चाहने कुरा हो । जहाँ सुख छ त्यहाँको वातावरण धेरै शान्त हुनुका साथै त्यहाँका मानिसहरुको दिनचर्या पनि खुसीमय तरिकाले वितेको हुन्छ । हाम्रो आँखाको हेराईमा बाहेक मानिसहरू ठुलो वा सानो कोही हँुदैनन्, तिनीहरूलाई ठूलो वा सानो हामी र हाम्रो समाजले बनाउँछ । सामान्य बुझाईमा जसले सपना ठूलो देख्छन तिनीहरू ठूला हुन्छन् । जो सपना देख्नबाट डराउँछन तिनीहरू साना नै हुन्छन । असम्भव भन्ने केही छैन, जबसम्म जुनकाम गर्न शुरू गरिदैन त्यो असंभव हुन्छ । खुसी केहो भनेर सोधनी गर्दा धनपैसा, घर, गाडी, छोरा÷छोरी, इच्छा चाहना पुरा हुनु भन्छन्, तर त्यो खुसी होईन खुसी त्यो हो मेरा कारणले कसैको जीवन पाईरहेको हुन्छ त्यो देख्न पाउनु नै खुसी हो । यसै गरी सुखको खोजीमा मानिस जन्मदेखि नै भौतारी रहेको हुन्छ । सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र के गर्ने सुख भन्ने चिज न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । यद्यपि मानिस सुख प्राप्तिका लागि जुझारू भएर लागिरहेका हुन्छन् । त्यसको बिपरित सुख भने टाढा टाढा भागिरहेको हुन्छ । सुखलाई एकिन अर्थमा मापन गर्ने कुनै साधन छैन । कुनै व्यक्ति एउटा परिस्थिमा सुखी हुन्छ भने अर्को व्यक्तिलाई सुखी हुन उक्त परिस्थिति काफी हुन्न । त्यसैले सुखी हुनका लागि प्रत्येक व्यक्तिलाई अलग परिस्थिति र भिन्न तत्वको आबश्यक हुन्छ । सुख को एकिन परिभाषा नभए पनि विभिन्न मनोबैज्ञानिक तथा बिस्लेशकहरूले सुखलाई आ–आफ्नै अर्थमा परिभाषित गरेका छन् । सुखलाई अन्तरिक आत्माको शान्ति पनि भनिन्छ भने आफुले चाहेको चिज प्राप्ति हुनुलाई अर्थात् आत्मसन्तुस्ट हुनलाई सुखको परिभाषामा राखेका छन् ।

सुखको अर्थ र परिभाषा अत्यन्त बृहत छ । कसैले सुखलाई धन सम्पति संघ तुलना गर्छन् भने कसैले मनभित्रको शान्तिलाई सुख सम्झन्छन् । त्यसैले धन सम्पति नहुने मान्छे कसरी धेरै पैसा कमाएर सुखी हुने भन्ने प्रयत्न गर्छन् तर अथाह धन र सम्पतिले मात्र मानिस कहाँ सुखी हुन्छ र ? सम्पन्न मानिसहरू सुखी हुन्छन् भन्ने भनाइ सत्य होइन । त्यस्ता मानिस आफन्तको अभाव, पारिवारिक चिन्ता, राजनीतिक संकट आदिजस्ता समस्याले दुस्खी हुन सक्छन । त्यसैले सुख भन्ने चिज न त धन सम्पतिको वशमा सक्छ न त पारिवारिक ममतामा सीमित हुन्छ । यो संधै एक पछि अर्को आवश्यकता बढे जस्तै अजङ्ग भएर बढी रहन्छ, तर यसो भन्दैमा संसारमा सुखी मान्छे नै छैनन् भन्न खोजेको चाही अवश्य होइन । यो बिश्वमा यति धेरै सुखी मान्छेहरू पनि छन् जो आफुमात्र बाच्न होइन, आफु मात्र सुखी हुनको लागि होइन, विश्वका हरेक मानिसलाई सुखी बनाउन चाहन्छन र सम्पूर्णलाई जगतलाई बचाउन चाहान्छन् । विभिन्न संस्थाले गरेको अध्ययनको प्रतिबेदन अनुसार सुखी मानिसहरू नै विश्वका सफल मानिसहरू हुन् ।

भगवान गौतम बुद्ध सधै सुखी थिए तर उनले आफ्नो मात्र सुख चाहेनन्, बिश्व मानव जगतको सुखको खोजीमा उनि भौतारिए । फ्लोरेसें नाइटिगेलले अरूको सुखको लागि आफ्नो सुखलाई भुलिन् र अरूको सेवामा रूझिन । त्यसैले सुखी हुनको लागि कसैलाइ भौतिक बस्तुको आवश्यकता पर्छ भने कसैलाई आन्तरिक मोक्षको जरूरत पर्छ । एउटा बालक खेलौना पायो भने रम्न थाल्छ र सुखी हुन्छ तर त्यो बालक जब जवान हुन्छ उनलाई त्यो चिज सुखी हुनको लागि काफी हुन्न । त्यसैले सुखी हुने चिज समय, परिस्थित र व्यक्तिको अन्तर्निहित इच्छा मोहसंग गांसिएको हुन्छ ।

हरेक वर्ष विश्वमा बिभिन्न निकायले कुन देशमा कति मानिस सुखी छन् भनेर अनुसन्धान गर्ने गरेका छन् । झट्ट हेर्दा बिकसित मुलुक अविकसित तथा बिकासोन्मुख राष्ट्र भन्दा सुखी हुनु पर्ने हो तर अध्ययनले एकिन रूपमा त्यस्तो देखाएको छैन । सन् २०१३ मा संयुक्त राष्ट्र संघको स्थायी विकास संजालले जारी गरेको प्रतिबेदन अनुसार एक सय ५६ राष्ट्रमा गरिएको अध्यनले बिश्वको धनि मुलुक अमेरिका १७ औ स्थानमा मात्र सुखी रास्ट्रको रूपमा परेको छ । मानव स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, उदारता , मृत्युदर आदिजस्ता तत्वलाई आधार बनाएर गरिएको उक्त सर्वेक्षणले डेनमार्कलाई बिश्वको प्रथम सुखी रास्ट्रको रूपमा पाएको छ भने त्यसपछिका देशहरूमा नर्वे, नेदरलेंड्स, स्विजर्लैंड, स्विडेन, क्यानाडा, फिनल्याण्ड, अस्ट्रेलिया, आइसल्याण्ड आदि रहेका छन् ।

सुखी हुनको लागि विभिन्न समय र परिस्थितिले असर पारेको हुन्छ । सुखी हुनु खोज्नु मानिसको नैसर्गिक अधिकार हो । जीवन लामो लागे पनि हामी सबै यस लोकमा थोरै समयको लागि आएका छौं । त्यसैले बाचुन्जेल सुखी जीवन खोज्नु अन्यथा होइन । तर सुखी कसरी हुँने भन्ने अप्ठ्याराहरू संधै हामीसँग खडा भएको हुन्छ । हामी कहिले काही जानी नजानी आफै समस्या निम्ताइरहेका हुन्छौ र सुखको ठाँउमा दुखलाई आमन्त्रण दिईरहेका हुन्छौ । यिनै हाम्रा अनगिन्तीचिजहरूले हामीलाई दुःखी बनाइ रहेको हुन्छविभिन्न चिन्तकहरूले गरेका अध्ययन अनुसार केहि बुँदाहरू छन् जसले सदैब सुखी रहन मद्दत गर्छ । हेरौ ति बुँदाहरू ः

१. बढी सोंच्ने बानीको त्याग
अतित र भबिस्यको चिन्तामा जब बढी सोच्न थालिन्छ तब त्यो व्यक्ति संधै दुखी हुन्छ । अतित संधै बितिसकेको समय हो, न त पश्चाताप गरेर त्यसलाई फर्काउन सकिन्छ न त त्यसमा कुनै परिवर्तन ल्याउन नै सकिन्छ । त्यसैले अतीतलाई सम्झेर चिन्ता गर्नाले समयको बर्बादी र दुःखी सिबाय केहि हुन्न । भबिस्यको चिन्ता देखि डराउने व्यक्ति सुखी जीवनबाट संधै टाढा हुन्छन् । भोलिको चिन्ताले संधै मानिसलाई दुःखी बाहेक सुखी बनाउन सक्दैन । भोलि अर्थात भबिस्य संधै अनिश्चित हुन्छ, त्यो समयमा आफु रहन पनि सकिन्छ र नरहन पनि सकिन्छ । आज अर्थात् बर्तमान हामि सबैको लागि महत्वपूर्ण छ । यदि सुखी बन्ने हो भने भुत र भबिस्यको चिन्तालाई छाडेर बर्तमानको आबश्यकता के हो त्यसैमा दत्तचित्त भएर लागौं ।

२. अरूसग तुलना गर्ने आदत
ओहो ! मसंग यो चिज छैन तर उ संग त्यो चिज छ , उसले म भन्दा बढी कमाउँछ, उ म भन्दा राम्रो छ आदिजस्ता अरूसँग तुलना गर्ने आदतले मानिसलाई संधै दुःखी बनाउँछ । सुखी बन्नको लागि अरूसंग तुलना गर्ने बानी त्याग्नुपर्छ । सबैलाइ आफु राम्रो हुन मन पर्छ, धेरै पैसा कमाउन मन पर्छ र आफु सुन्दर हुन मनपर्छ । यी सब चिजहरू प्रकृति, समय र परिस्थितिका फलहरू हुन् त्यसैले अरूसंग धेरै छ, अर्थात् आफु सँग छैन भनेर चिन्ता गर्नु नकारात्मक सोचको विकास हुनु हो, यसले मानिसलाई संधै दुःखी बनाउछ । यस्तो प्रवृतिले मानिसको सुख खोसेर लान्छ । आफु हुनुको महत्व आफैमा खोज्नु पर्छ । प्रत्येक व्यक्ति यो बिश्वमा नै अलग अलग चिज हुन् त्यसैले अरूसँग तुलना गर्नु भन्दा आफुमा भएको चिजमा रमाउन सक्यो भने जीवन सुखी हुन्छ ।

३. आफुलाई आफै दोष दिने बानी
आफुले गरेको गल्तीमा आफैलाई दोष दिने आदतले पनि मानिस सधै दुःखी हुन्छन । जीवन जिउने भनेकै आफ्नै लागि हो, गल्ति जानेर या नजानेर जोकोही बाट पनि हुन्छ तर त्यहि गल्तीलाई लिएर आफैलाई सजाय दिने प्रबृत्तिले मानिसलाई दुस्खी बनाउँछ । आफ्नो भावनाको कदर अरूले गर्ने होइन आफुलाई आफैले गर्नु पर्छ । संसारमा आफुले आफुलाई जति
राम्ररी चिनिन्छ त्यो अरूबाट हुन् सक्दैन । त्यसैले आफुले आफैलाई माया गर्ने तथा आफुले गरेको गल्तीलाई माफ गरेर आफुलाई माफ गर्नाले मानिस सुखी बन्न सक्छ ।

४. नकारात्मक टिप्पणीको बेवास्ता गर्ने बानी
हामी रहने र बाच्ने समाजमा प्रत्येक दिन कुनै न कुनै सकारात्मक या नकारात्मक टिका टिप्पणी कुने गर्छन् । आफ्नो बारेमा राम्रो र सकारात्मक सोच्ने मानिस मात्र हुन्नन् कहिले काही विभिन्न नकारात्मक टिका टिप्पणी सुन्नु पर्ने हुन्छ । यस्ता आलोचनालाइ सकारात्मकरूपमा लिन सक्ने अर्थात् बेवास्ता गर्न सक्ने व्यक्तित्व नै सुखी हुन्छन । किनकी जीवनमा संधै राम्रै पाटो भन्ने अबस्य हुन्न त्यसैले आफुलाई मन नलाग्ने र आफुलाई दुःखी हुने टिका टिप्पणीलाई बेवास्ता गर्नाले एकातिर आफ्नो अमुल्य समयको बचावट हुन्छ भने अर्कोतिर दुःखी हुन् बाट बचाउँछ ।

५. ब्यस्त रहने बानी
भनाइ नै छ ः खालि दिमाग राक्षसको घर, त्यसैले संधै ब्यस्त रहने मान्छे सकारात्मक सोचका हुन्छन् । फुर्सदको समयमा पत्रिका पढ्ने, टीभी हेर्ने, आफन्तसँग भेटघाट गर्ने, साथीसँग रमाइला कुरा गर्ने प्रबृतिले मानिसलाई सुखी बनाउछ । त्यसैले बढी फुर्सदमा रहनु भन्दा समयलाई ब्यस्त गुजार्न सक्यो भने सुखी जीवनको प्राप्ति गर्न सकिन्छ ।

६.सकारात्मक सोचको विकास
जीवनमा संधै सफल र खुसिमात्र कहिले हुँदैन । दुख–सुख, सफलता÷असफलता सबै चिज एक पछि अर्को गर्दै विभिन्न चरणमा आइ पर्छन् त्यसैले दुख भयो भनेर आत्तिने गर्नु हुन्न । जीवनको कुनै मोडमा असफल हुँदा हतास हुनु हुन्न किनभने सफलता र असफलता संधै आइराख्ने चिजहरू हुन् त्यसैले आफुलाई फेरी पनि सफल बनाउने हिम्मत लिनु पर्छ । जीवनमा आउनेहरेक उतार चडाबलाइ एउटा पाठकोरूपमा लिन सक्नाले सुखी हुन् मद्दत गर्छ ।

७. अरूलाई खुशी पार्ने सोच
आफ्नो लागि मात्र सोच्ने मानिस स्वार्थी हुन् त्यसैले अरूको खुशी र सुखलाई सोच्न सकियो भने त्यसबाट पाउने आनन्द अरू कुनै चिजबाट पाउन सकिन्न । आफु बाहेक आफ्नो परिवारलाई कसरी मदत गर्न सकिन्छ, अर्थात् अन्य दुःखमा परेका मानिसलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने बिषयमा दिमाग खर्च गर्यो भने अवश्य पनि अरूलाई केहीमात्रामा सेवा गर्न सकिन्छ । अरूलाई सेवा गर्ने व्यक्ति संधै सुखी हुन्छन । सुख प्राप्त गर्न सकारात्मक सोच, विचार र धारणाबाट दैनिक खान पिनमा ध्यान दिने तथा शारीरिक ब्यायाममा समेत समय दिन सक्नु पर्दछ । समयको गति सगै जीवन परिवर्तन गर्दै योगाभ्यासमा परिवर्तन गर्न सक्नु उपलब्धिमूलक हुन्छ ।यसरी सुख प्राप्ती गर्न सकिन्छ । मेरा कारणबाट कसैले जीवन पाईरहेको देख्न सक्नु, जीवनमा हरेक ब्यक्तिसँग केहि न केही क्षमता लुकेको हुन्छ त्यसलाई पत्ता लगाएर लगनशील हुनु नै सुख हो । पेशालाई प्राथमिकतामा राखेर अगाडी बढ्न सक्नु नै खुसी हो ।
(लेखक सैनामैना नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत एवं नेपाल सरकारका उपसचिव हुन् )

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

गरिबीको अवस्था र घटाउने उपाय ।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आव

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम ।

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगल