हिन्दूहरुकाे महान पर्वहरु मध्ये हरिबाेधनी एकादशीकाे व्रत र पूजा पनि महत्वपूर्ण पर्व मानिन्छ । आज कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व अत्यन्तै महत्वका साथ मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी देखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । यसलाई चतुर्मासा पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । आजै उपत्यकाका चार नारायणमा भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँकाे शेष नारायण र इचँगुनारायण स्थानमा विशेष पूजाआजा र मेला लाग्दछ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हर्साेल्लासका साथ याे पर्व मनाइन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । भगवान विष्णुकाे प्रतिककाे रुपमा तुलसीलाई मानिन्छ । साथै आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीकाे विभिन्न औषधि पनि हुन्छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी, घाँटी दुखेकाे, मुटुकाे धड्कन बढेमा, काेराेना लगायत विभिन्न प्रकारका भाईरस लागेमा र औलो लगायत रोगका लागि यसकाे रस उमालेर खानाले ठलाे औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसी निकै महत्व र महिमा रहेकाे छ । साथै तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले काेराेना नियन्त्रण गर्न सहयाेग पुराएकाे अनुभव पनि छ । त्यसैले तुलसी मानव जीवनमा निकै महत्व रहेकाे छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान र ७ दिने सप्ताह गरे बराबरको फल मिल्दछ भन्ने उल्लेख गरेकाे पाईन्छ । आज शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । उखुको बोट, निगालाे, सालकाे लिङ्गाे मठमा गाडेर पुजा । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु, फर्सी, भ्याकुर, गिठा र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ । भगवान विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने विश्वास छ । हरिबाेधनी एकादशी एवं तुलसी विवाहकाे हार्दिक मंगलमय शुभकामना छ । भगवान विष्णुले हामी सवैकाे कल्याण गरून् ।। ॐ विष्णु ॐ विष्णु ॐ विष्णु !!!