कस्तो हुनुपर्छ समुन्नत समाज निर्माणमा सञ्चारको दायित्व ?

सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिबीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । एकअर्काबीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । 


परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्त्वका सूचनाहरू सर्वसाधारणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाइ उपकरणका सङ्गमबाट अहिलेको पत्रकारिता चलिरहेको छ । मुख्यतः छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको मानिन्छ । 

 

विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै पछि मात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतमा भन्दा झन्डै तीन सय वर्ष पछाडि मात्र नेपालमा छापाखानाले प्रवेश गरेको देखिन्छ । भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भम्रणबाट फर्कंदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवत् रूपले प्रवेश पायो । यसैलाई हामीले गिद्धेप्रेस भन्छौं । यसपछि मनोरञ्जन छापाखाना ल्याइएको थियो । 

पत्रकारिताको प्रारम्भ मोतिराम भट्टले गरेका थिए । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले विसं १९५० मा सुधासागरको प्रकाशन गरे । १९५२ मा उनको निधन भएपछि पण्डित नरराजहरूले १९५५ मा ‘सुधासागर’ प्रकाशित गरे । यो नेपालबाट प्रकाशित पहिलो पत्रिका थियो । यस अघि विसं १९४२ मा ‘गोर्खा भारत जीवन’ नामक् पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । 

यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनुपर्दछ । नेपालमा जङ्गबहादुरले बेलायतबाट प्रेस ल्याएको झन्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ । ‘सुधासागर’पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । सन् १९०१ मा प्रकाशित भएको थियो । यसको प्रकाशनपछि नेपाली सञ्चारमाध्यममा क्रान्ति नै आएको थियो ।

नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ । विसं २००७ को क्रान्तिका समयमा नारदमुनि थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रसारण भएको थियो । पछि विराटनगरमा पनि अर्काे रेडियो सञ्चालन भएको थियो । तारिणीप्रसाद कोइरालाले नेतृत्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो । प्रजातन्त्रको स्थापनापछि २००७ चैतमा त्यही उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ । 
टेलिभिजनको इतिहासमा विसं २०४१ मा नेपाल टेलिभिजनको स्थापना भयो र यसले हाल करिब ११७ च्यानल प्रसारण गरेको  पाइन्छ । 

यसै गरी नेपालमा अनलाइन पत्रकारिता पनि प्रशस्तै सञ्चालनमा छन् । प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू धेरै अगाडि नै अनलाइन संस्करणमा गए पनि नेपाल यसमा त्यति पछाडि छैन । सन् १९९३ बाट अनलाइन पत्रकारिताको विकासले तीव्रता पाएको थियो । नेपालमा पनि सन् १९९५ मै अनलाइन पत्रकारिताको प्रारम्भ भइसकेको थियो । नेपालमा अनलाइन पत्रकारिताको प्रारम्भ गर्ने पहिलो संस्था मर्कन्टाइल हो । उसले सन् १९९५ मा साउथ–एसिया डटकम मार्फत् कान्तिपुर पब्लिकेसन हाउसको अङ्ग्रेजी दैनिक दी काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो । अहिले अनलाइनहरू करिब २,४७३ भन्दा धेरै नै भइसकेका छन् । अनलाइन पत्रकारितामा नयाँ धार सुरु भएको छ । आफैँ रिपोर्टर राख्नेदेखि बाइलाइन राखेर समाचार लेख्ने काम अन्य अनलाइनले सुरु गरेका छन् । 

बिटमा आधारित रहेर अनलाइन सञ्चालन गर्ने लहरसमेत नेपालमा चलेको छ । पछिल्लो समय विशेष गरी आर्थिक बिटका राम्रा अनलाइनसमेत सञ्चालनमा आएका छन् । यसै गरी नेपाली ब्लग साइटहरू पनि धेरै खोलिएका छन् । नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य रहेको छ । कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार पस्किरहेका छन् । त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन् । यद्यपि ब्लग समाचार साइट होइन । 

मिडियालाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिविम्बित हुन्छ । मिडिया समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथप्रदर्शक पनि हो । समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु यसको उद्देश्य भएकाले लोकतान्त्रिक समाजको पहरेदारको रूपमा रहेको हुन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दीबिनाको प्रहरीका रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन, गलत पात्र र प्रवृत्तिविरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ । मिडियाले समाजका समस्या उद्घाटित मात्रै होइन, न्यायका लागि मार्ग प्रशस्तसमेत गर्छ । 

सञ्चार माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको पाइन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनीतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ । समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाजप्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हावी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउँमा न्यायमा सबै क्षेत्र तह र तप्काको समान पहुँच हुन सक्दैन । मिडियाले समाजका समस्या जस्ताको त्यस्तै दर्साउने भएकाले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । 
तर मिडिया राजनीतिग्रस्त हुनु, मार्केटफोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण यसले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत गरिदिँदा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्त्व स्थापित गर्न सकिन्छ । यथार्थ समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै सञ्चारकर्मीले बिर्सिनु हुँदैन । 

नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका स्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको स्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नक मात्रै सञ्चार माध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । यो पद्धति गलत हो ।

मिडिया आफैँमा एउटा व्यवसाय भएकाले यसले पनि नाफा कमाउनुपर्दछ, अन्यथा बजारमा टिक्न सक्दैन । तर अर्कातिर यसको अभियान नै जनतालाई सुसूचित पार्नु हो । यदि सूचनाको प्रवाह गर्ने आफ्नो दायित्व मिडियाले पूरा गर्न सकेन भने यसको औचित्यमाथि प्रश्न चिन्ह खडा हुनेछ । समाजको पहरेदारी गर्न विकास भएका मिडियाले समाजको अहित हुने कुरा गर्नु हँुदैन । 

समाजमा विश्वास कायम गर्न मिडिया समाजप्रति उत्तरदायी बन्नैपर्छ । अन्यथा मिडिया जनताको आवाज होइन, प्रोपोगान्डा सावित हुन्छ । त्यसैले सत्य, तथ्य र वास्तविक सूचना प्रवाह नै मिडियाको धर्म हो । आफ्नो यो आधारभूत मान्यताबाट सञ्चार माध्यम चिप्लियो भने समाजको पहरेदारको भूमिकामा त्यो मिडिया हुन सक्दैन । 

लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा न्याय, सुशासन र समृद्धिका लागि त मिडियाको ठूलो भूमिका हुने गर्दछ । नेपाली समाज बहुलवादी छ । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । मुलुकमा प्रेस स्वतन्त्रता छ । सही सूचनाको सम्प्रेषण नहुँदा एउटा सानो गलत सूचनाले एकैछिनमा ठूलो रूप लिन सक्छ । गलत सूचनाले कतिपयको व्यक्तिगत वा सामाजिक, संस्थागत जीवन चरित्र नै समाप्त हुन सक्छ । यसका लागि मिडियामा नकारात्मक कुरा फैलाउने प्रक्रिया रोक्न राज्यले बलियो संयन्त्र निर्माण गर्नुपर्छ । र, मिडियाहरूबाट पनि राज्यलाई सकारात्मक सहयोग गर्नु पर्दछ । 

पछिल्लो समयमा हरेक नागरिक जसको इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच छ, यस्ता समाचारहरू सेयर गर्नुभन्दा पहिला धेरै आयामबाट सोच्न जरुरी पनि छ । पहिलो विषय समाचारमा सत्यता हुँदाहुँदै निष्पक्ष छ कि छैन ? त्यो पक्ष केलाउन जरुरी छ । दोस्रो समाचारको उद्देश्य सामाजिक मेलमिलापमा आधारित छ या सामाजिक बेमेलमा आधारित छ भन्ने सोचेर सेयर वा ‘सिफारिस’ गर्ने निर्णय गर्नुपर्छ । कतिपय समाचारमा समाज बनाउनेभन्दा पनि भाड्ने तत्त्व हावी वा नियोजित रूपमा ‘पित’ पत्रकारिताका रूपमा त्यो देखिन्छ । 

हाम्रो समाजमा धेरै विचारको घुलमिल छ । सबैलाई आफ्नो विचारको, अस्तित्वको रक्षा गर्ने व्यक्तिगत चुनौती पनि छ । तर आफ्नो विचारको अस्तित्व कायम राख्न नकारात्मक कुराहरू भ्रम, सङ्कीर्णता आदिको सहारा लिनु राम्रो होइन । मुलुकमा व्याप्त अस्तव्यस्ता, दण्डहीनता, मानव अधिकारको रक्षा सुशासन, कर्तव्य र अधिकारको बोध मिडियाले नै गर्ने हो । लोकतन्त्रमा सही सूचना पाउनु पनि नागरिकको अधिकार हो ।

सही सूचना नै सञ्चार माध्यमको प्रमुख व्यापार हो । सेवा भनिए पनि सञ्चार माध्यमले बिक्री गर्ने त्यही सूचना हो । नागरिकहरू सूचनाका उपभोक्ता हुन् । सूचना खरिद गरेर नागरिकहरू लाभान्वित हुन्छन् । सूचना बेचेर सञ्चार माध्यम चल्छन् । विधाअनुसार पैसा तिर्ने तरिका र माध्यम फरक हुन सक्छन् । त्यसैले मिडियाले दिने सूचना कस्तो हुने, त्यसले समाजमा पार्ने प्रभाव वा असर कस्तो हुन सोच्न जरुरी छ । 

अन्त्यमा मानिसको उत्सुकता, कौतुहल मेटाउने काम मिडियाले गर्ने गर्दछ । त्यसैले वास्तविक वा सत्यता, सन्तुलन र विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यता हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीनवटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । कुनै पनि सूचना वा समाचारमा तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । त्यसैले सञ्चार माध्यमबाट प्रसारित सूचनालाई असल सञ्चारकर्मीले आफ्नो धर्म, कर्तव्य, दायित्व र मर्मलाई ध्यान दिएमा मिडियाको गरिमा बढ्न जान्छ । पत्रकारिताबाट समाजलाई सही मार्गमा लैजान सकिने, कुरीति, कुसंस्कार हट्ने, सेवा प्रवाहमा सुशासन र पारदर्शिता कायम भई भ्रष्टाचार नियन्त्रण हुने देखिन्छ । पत्रकारिताको खबरदारीबाटै आर्थिक सामाजिक रूपान्तरण भई समुन्नत समाजबाट समृद्ध नेपाल सुखी नेपाल हुनेमा विश्वास गर्न सकिन्छ ।
लेखक बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

यसकारण जटिल बनिरहेछ काठमाडौंको फोहोर व्यवस्थापन .

काम नलाग्ने भनी फालेका वस्तु फोहोरमैला हो। प्लाष्टिक, कागज, फलामका टुक्रा, काँचका बट्टा, सिसाका बोतल, टिनका पाता, रङका बट्टा र बाल्टी, भान्साबाट निस्किने तरकारी केलाएका बोक्रा, तरकारी खुर्के

विश्व वातावरण दिवसः प्रदूषण र असरहरू

पृथ्वीको संरक्षणः दीगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ सन् २०२२ जुन ५ को विश्व वातावरण दिवस आज मनाइँदै छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश